Friday, October 7, 2016

नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व

नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व बढ्दै गएको छ । प्राबिधिक शिक्षा र ब्यावसायिक तालिमले रोजगारीको अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत मद्दत गरिरहेको छ । त्यसमा कोशेढुंगा सावित भएको छ नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को स्थापना । परिषद् अन्तर्गतका सम्बन्धन लिएका शैक्षिक संस्थाहरु र तालिम केन्दहरुले  प्राबिधिक तथा ब्यावसायिक तालिमको महत्व ग्रामीण क्षेत्रसम्म पुर्याउन मद्दत गरेका छन् । बढ्दो बेरोजगारीका माझ युवाहरुको आकर्षण पनि प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम प्रति बढेको पाइन्छ । त्यसमा पनि अलिकति लगानी गर्न सक्ने वा पैचौ सापटी लिन सक्ने सामथ्र्य भएका निम्न तथा मध्यम वर्गिय परिवारका युवाहरुको आकर्षण प्राबिधिक शिक्षाप्रति अझ बढिरहेको छ । सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग भइरहने भएकाले पनि प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति युवाहरुको आकर्षण बढेको पाइन्छ । नेपालमा प्राबिधिक शिक्षालाई अझ ब्यापक वृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ । दैनिक सरदर १५ सयदेखि २ हजारको हारहारीमा वैदेशिक रोजगारीको निम्ति मुलुकबाट बाहिरिने युवा जनशक्तिलाई मध्यनजर गर्दा त्यो झन् जरुरी देखिन्छ । किन भने खासगरी खाडीका देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ उनीहरु खाडीमा मात्र होइन पश्चिमा देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ ।
त्यसैले नेपालका ७५ वटै जिल्लामा प्राबिधिक शिक्षाको विस्तार हुन जरुरी ठानिएको छ । प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारदाताकोमा काम गर्दा पनि राम्रो पारिश्रमिक पाउने, सिर्जनशील र मिहीनेती हुने भएकाले पनि यो शिक्षाको महत्व बढ्दै गएको हो । नेपालको परिप्रेक्षमा निम्नवर्ग, मध्यमवर्ग  मात्र नभई  सबै वर्गका लागी प्राबिधिक तालिम प्राप्त गर्ने अवसर प्रदान गर्नेतर्फ सरोकारवाला निकाय सबैको ध्यान पुग्न जरुरी छ । माध्यामिक, प्रवेशिक अनुत्तिर्ण तथा प्रवेशिका उत्तीर्ण गरेपछि आर्थिक स्थिति कमजोर भएका युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दो छ । त्यसैले प्राबिधिक र ब्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन हुनुपर्ने देखिन्छ । प्राबिधिक शिक्षामा सबै वर्ग र भुगोलका मानिसको पहुँच पुर्याउन सक्नु अहिलेको टडकारो खाँचो हो । विशेष गरी यसमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पुर्याउन सके ग्रामीण विकासमा समेत ठुलो भुमिका खेल्न सक्ने देखिन्छ । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा दिन्छ । स्वरोजगारीको अवसर सृजना हुने देखि ग्रामीण पर्यटन विकासलाई समेत यसले होस्टेमा हैसे गर्न सक्छ । त्यसैले शैक्षिक रुपमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर वर्गका निम्ति प्राबिधिक शिक्षामा पहँुचका लागी यसको महत्व एव उपयोगिता बारे ब्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ । त्यसको निम्ति ग्रामीण क्षेत्रका मानिसहरुमा समेत महत्वको बोध गराउनु पर्ने देखिन्छ । नेपालमा एशियाली विकास बैकले रोजगारीका लागी सीप परियोजना मार्फत कुल ६०,२९२ (५३.५ प्रतिशत महिला, २५ प्रतिशत दलित) बेरोजगार, विपन्न, महिला, दलित र सुविधावाट वञ्चित वर्गहरुलाई सीपमुलक तालीम प्रदान गरेकोमा ७८ प्रतिशतले सीप परिक्षण परिक्षा उत्तीर्ण गरेका थिए भने उत्तीर्ण मध्य ६० प्रतिशत भन्दा बढीले स्वरोजगार एव रोजगार भएका विभिन्न अध्ययनले  देखाएका छन् । यस परियोजनाको कारण पनि प्राविधिक शिक्षा देशमा रोजगारी वृद्धिका लागी अपरिहार्यता रहेको बिषयमा ग्रामिण तहसम्म धारण बन्न गएको पाईन्छ ।  तर दिनदिनै विदेशिने अदक्ष कामदारको हुल र उनीहरुका परिवारजनलाई समेत बुझाउन के जरुरी छ भने चुनौतिपूर्ण वैदेशिक रोजगारीबाट हुने आम्दानीभन्दा स्वदेशमै सानो तिनो काम गर्ने दक्ष वा अर्धदक्ष कामदारले राम्रो आम्दानी गर्न सक्दछन्  । विदेशिने नै हो भने पनि सीप नभएको मानिसलाई दुःखले पनि पछयाइरहेकै देखिन्छ । त्यसैले विदेश होस वा स्वदेशको गाउँ वा शहर जहाँ पनि दक्षता र सीपले अवसर र आम्दानीको बाटो आफै पहिल्याउँछ ।
(लेखकः प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखामा प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

No comments:

Post a Comment